पाँचथर । पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
शनिबार बेलुका निर्माणधीन बेलिब्रिज भाँचिदा पुल जडानका लागि खटिएका ६ जना मजदुर गम्भीर घाइते भएका थिए । ती मध्ये ३ जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबल मेडिकल कलेजमा उपचारका क्रममा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेलमा उपचार भइरहेको छ ।
मेची राजमार्गको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने पुल शनिबार जडानको अन्तिम चरणमा पुगेको बेला भाँचिएको थियो । शनिबार पुल जडानपछि यातायात सञ्चालनको तयारी थियो ।