काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो १ बजेका लागि सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ। दलहरु आन्तरिक छलफलमा जुटेपछि बैठक दुई घन्टापछि सारिएको हो।
एमालेसहितको समर्थनमा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेपछि भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को उपधारा (२)बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ।
२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका छन्। त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि थपिएका छन्। सरकारको नेतृत्व गरिरहेको माओवादीका ३२ सांसद छन्। पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका २० सांसद छन्। राप्रपाका १४ सांसद छन्। जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४ सांसद छन्।
सत्ता साझेदार दलको बैठकले प्रतिनिधिसभाका सबै सदस्यसँग विश्वासको मत माग्ने निर्णय गरेको थियो।
नेपाली कांग्रेसले विश्वासको मत दिने/नदिनेबारे पदाधिकारी र संसदीय दलको बैठकमा छलफलपछि निर्णय गर्दैछ। त्यसका लागि अहिले बैठक जारी छ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने संकेत दिएका छन्। कांग्रेससँग ८९ सांसद छन्।
एकीकृत समाजवादी आज बिहान बसेको बैठकले सर्तसहित प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
जनमत र नेमकिपा भने प्रतिपक्षमा बस्ने जनाएका छन्। नेमकिपा र जनमोर्चाका १–१ सांसद छन्।