Lite Nepal

मंगलबार, चैत्र २७, २०८०

काठमाडौं । क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ ।

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या सीमा तोक्ने छ । यसअघि आवासको संकट बढ्दै गएका कारण आप्रवासीहरूको सङ्ख्या घटाउनुपर्ने निष्कर्षमा सरकार पुगेको मन्त्रालयले बताएको थियो ।

हाल कुल जनसङ्ख्यामा अस्थायी बासिन्दाको सङ्ख्या ६.२ प्रतिशत रहेकोमा त्यसलाई ५ प्रतिशतमा सीमित गर्ने लक्ष्यमा सरकार रहेको मन्त्री मिलरले बताएका छन् । अस्थायी बासिन्दाहरूको दीर्घकालीन हित सुरक्षाका लागि सरकारले यो नीति लिन लागेको मिलरले स्पष्ट पारेका छन् ।

हालैका वर्षहरूमा क्यानाडामा अस्थायी बासिन्दाहरूको सङ्ख्या ह्वात्तै बढेको छ । सन् २०२४ को मार्चसम्म क्यानडामा अस्थायी बासिन्दाहरूको सङ्ख्या २५ लाख रहेको छ । यो सङ्ख्या सन् २०२१ को तुलनामा १० लाखले बढी हो ।

श्रम शक्तिको अभाव पूर्तिका लागि क्यानडा अस्थायी वैदेशिक श्रमिकमा निर्भर हुँदै आएको छ । ‘हामीले प्रणालीलाई चुस्त बनाउनका निम्ति नीति परिवर्तन गर्न लागेका हौँ । क्यानडेलीहरूका निम्ति गरिएको प्रतिबद्धता पूरा गर्न र व्यवस्थित आप्रवसानका निम्ति हामीले केही कदम चाल्नैपर्ने अवस्था छ’, मिलरले आफ्नो सम्बोधनमा भनेका छन् ।

यस नीति अनुसार क्यानडेली व्यापारिक संस्थाहरूले पनि आप्रवासी कामदारहरूको सङ्ख्यामा कटौती गर्नुपर्ने मन्त्री मिलरले बताएका छन् । यसका लागि उनीहरूलाई १ मे सम्मको समय दिइएको छ ।

उनीहरूले यहाँका स्थायी बासिन्दा वा क्यानडेली नागरिकबाट सम्बन्धित काम गराउन नसकिने स्थिति भए त्यसका लागि उपयुक्त प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

क्यानडाले स्वास्थ्य तथा निर्माणतर्फका कामदारको हकमा भने ३१ अगस्टसम्म अहिलेकै सीमा अनुसार भित्र्याउने बताएको छ । सरकारी तथ्यांक अनुसार करिब ५४ प्रतिशत अस्थायी बासिन्दाहरूसँग क्यानडामा श्रम स्वीकृति रहेको छ ।

अस्थायी बासिन्दाहरूको सङ्ख्या निर्धारण गर्ने सरकारी नीतिको विरोध पनि भएको छ । यस वर्षको सुरुवाततिर क्यानडाले आगामी दुई वर्षका लागि अध्ययन स्वीकृति घटाउने लक्ष्य राखेको थियो । विद्यार्थी भिसामा आउनेहरूको सङ्ख्या ३५ प्रतिशतले कटौती गर्ने लक्ष्य सरकारले राखेको थियो ।

सन् २०२२ को तथ्यांक अनुसार क्यानडामा ८ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी रहेका छन् । सरकारले सीमा निर्धारण गर्दा आफूहरूको आम्दानीमा असर पुग्ने चिन्ता विश्वविद्यालयहरूको छ । श्रमिक अभाव पूर्तिका लागि खुला आप्रवासन नीतिमा निर्भर क्यानडाले आप्रवासीहरूको सीमा तोक्नुलाई महत्त्वपूर्ण नीतिगत परिवर्तनका रूपमा पनि लिइएको छ ।

सरकारले आवास व्यवस्थापनमा दबाब बढेपछि आप्रवासी सङ्ख्यामा सीमा घटाउन खोजेको हो । क्यानडामा घरजग्गा खरिद निकै महँगो हुँदै गएको छ । त्यसका लागि औसतमा ७ लाख क्यानेडियन डलर खर्च हुने र विगत दुई वर्षमा त्यहाँको भाडादरमा करिब २२ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांक छ ।

मन्त्री मिलरका अनुसार आप्रवासीहरूले पुर्‍याउने योगदानबारे सरकार जानकार रहे पनि उनीहरूका निम्ति सहज सुविधाको व्यवस्थापन गर्नुपर्ने दायित्व सरकारकै भएकाले सङ्ख्या कटौती गर्न लागिएको हो । ‘हाम्रो प्राथामिकता तात्कालीन लाभ मात्रै नभएर भरपर्दो र टिकाउ आप्रवासन प्रणाली सुनिश्चित गर्नु हो’, मिलरले भनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा