काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालको शिक्षा प्रणाली सुधार गर्नु राष्ट्रिय चुनौती भएको बताएका छन् ।
आजबाट सुरु एसईई परीक्षामा सहभागी विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्दै भट्टराईले देशमा राम्रो जनशक्ति उत्पादन गर्ने मुख्य ढोका नै एसईई भएकाले यसलाई शैक्षिक क्षेत्रको उत्सवका रूपमा लिनुपर्ने बताए ।
‘यो परीक्षा भनेको शैक्षिक क्षेत्रको उत्सव पनि हो । सहभागी सबै विद्यार्थीले राम्रो अंक प्राप्त गर्न सफल हुनुहोस् । म सफलताको शुभकामना व्यक्त गर्दछु,’ भट्टराईले भनेका छन् ।
उनले पछिल्लो समय नेपालको शैक्षिक गुणस्तर खस्किरहेको बताउँदै परीक्षा प्रणाली र प्रश्न पत्र लगायतका कतिपय अवस्थाको पुर्नविचार गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा समितिमा विचाराधीन अवस्थामा रहेकाले यसलाई अघि बढाउने सिलसिलामा शिक्षा भित्रका धेरै सुधार गर्नुपर्ने विषयमा ध्यान दिने उनले बताए । ‘विद्यालय शिक्षा भनेको महत्वपूर्ण जग हो । यो जगबाट नै राम्रा विद्यार्थी उत्पादन गर्ने हो । यसमा शिक्षा मन्त्रालय, शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘यस भित्र रहेका समस्या समाधान गर्न अब शिक्षा विधेयक अघि बढ्दा हामी छलफल गर्नेछौं ।’
यसपटकको एसईई परीक्षामा एचआईभी सङ्क्रमितहरू पनि सहभागी रहेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका भट्टराईले यो साहसले समाजमा उनीहरूलाई सम्मानजनक स्थान प्राप्त गर्न सहज हुने बताए । भने, ‘एचआईभी सङ्क्रमित भएपछि समाजमा निरास भएर बस्ने अवस्था थियो । तर, अहिलेको परीक्षामा आफ्नो आत्मविश्वास बढाउँदै सहभागी हुनुभएको छ, उहाँहरूको यस्तो आँटले समाजमा सम्मानजनक स्थान प्राप्त हुन्छ ।’
भट्टराईले परीक्षाका सुरक्षा र परीक्षा सफल बनाउन खटिने सबैलाई शुभकामना व्यक्त गर्दै उच्च मनोबलका साथ लाग्न आग्रह पनि गरेका छन् । बिहीबारबाट सुरु भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।