संखुवासभा । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित कैलाश रुद्राक्ष भण्डारमा रुद्राक्षबाट तयार पारिएका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन्। रुद्राक्षका दानाबाट बनाइएका माला तथा अन्य सामग्रीप्रति विशेषगरी भारतीय ग्राहकको आकर्षण रहेको सञ्चालक कैलाश शाक्य बताउँछन्।

शाक्यका अनुसार रुद्राक्षबाट बनेका विभिन्न सामग्री भारतीय ग्राहकले रुचाउने गरेका छन्। उनले रुद्राक्षका दानाबाट फूलदानी, पूजासामग्री, की–रिङ (चाबी झुन्ड्याउने सामग्री) लगायतका आकर्षक सामग्री आफैँ तयार पार्दै आएका छन्।
रुद्राक्षका दानालाई विभिन्न आकार र आकृतिमा ढालेर सामग्री बनाउने गरेको बताउँदै शाक्यले यसबाट स्थानीय उत्पादनको व्यावसायीकरण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।




