विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘विध्वंसकारी’ भन्दै टिप्पणी गरेका छन् ।
प्रदेशस्तरीय सुरक्षा बैठकलाई बुधवार सम्बोधन गर्दै उनले पछिल्लो समयको ‘जेन–जी’ आन्दोलनलाई सुधारभन्दा विनाशकारी गतिविधि भएको बताएका हुन् ।
उनले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै ‘कार्यकर्ता’को संज्ञा दिए । आफ्नो विद्यार्थी जीवनको स्मरण गर्दै उनले भने, ‘२०५० सालमा ल क्याम्पस पढ्न आउँदा हामीले उहाँलाई स्वागत गरेका थियौं । तर, आजको अवस्था र जिम्मेवारी फरक छ । परिस्थिति यस्तो थियो कि हामी भाग्नुपर्ने अवस्था आयो, झन्डै झन्डै भाग्यौँ पनि,’ मुख्यमन्त्री कार्कीले भने ।
उनले हिजोको र आजको सरकारबिच आकाश–पातालको फरक रहेको दाबी गरे । प्रधानमन्त्री सुशीला कार्कीलाई गुरुआमा भन्दै मुख्यमन्त्रीले वर्तमान सरकार पूर्णतः गैर दलीय भएको र यसको एक मात्र म्यान्डेट निर्वाचन गराउनु मात्र रहेको बताए ।
मुख्यमन्त्री कार्कीले बाँकी ६४ दिनमा चुनाव हुने सम्भावना न्यून रहेको आशङ्का पनि व्यक्त गरे । उम्मेदवार हुन नदिने र धम्की दिने गतिविधिले चुनावी वातावरण बिग्रिएको उनको तर्क थियो ।

साथै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिने कदम ‘गलत र पूर्वाग्रही’ भएको उनले बताए ।
सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति मुख्यमन्त्रीले अविश्वास व्यक्त गरे । ‘गौरीबहादुर कार्की कता हुनुहुन्थ्यो भन्ने सबैलाई थाहा छ, उहाँको सामाजिक सञ्जाल हेर्ने हो भने कस्तो नतिजा आउला भन्ने प्रस्ट भइहाल्छ,’ उनले भने ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लुटिएका हतियार निर्वाचनमा दुरुपयोग हुने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भागेका कैदी बन्दीको अवस्था र सवारी साधनको स्वामित्वका विषयमा सङ्घीय सरकारले जवाफ दिनुपर्ने माग गरे ।
मन्त्री भण्डारीले सुशासनको क्षेत्रमा अपेक्षित परिवर्तन नआएको र सडकहरूमा गैर कानुनी असुली भइरहेकोप्रति चिन्ता व्यक्त गरे । यस्ता गतिविधिले विशेष गरी भारतीय पर्यटकहरू प्रभावित भएको र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको उनको भनाइ थियो ।

यसैबिच, गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले सय दिनको अवधि पूरा गरी सुरक्षा प्रत्याभूति गराउने कार्यमा लागेको बताए । तोकिएको समयमा धाँधलीरहित निर्वाचन सम्पन्न गर्न, घाइतेहरूलाई मासिक भत्ता वितरण गर्ने र सर्वपक्षीय छलफलपछि भयरहित निर्वाचन सम्पन्न गर्ने तयारी रहेको उनले जानकारी दिए ।
