Lite Nepal

बुधबार, पुष २३, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

बालुवाटारबाट फर्किएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको विषयमा जनस्तरबाट पटक–पटक प्रश्न उठ्दै आएका थिए । यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।

घिसिङ यसअघि अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि उनी सो पार्टीको वरिष्ठ उपसभापति बनेका थिए ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

‘म मान्छु पदभन्दा ठुलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठुलो हुन्छ जनता ।’

उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरेका छन् । ‘मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’ घिसिङले भनेका छन् ।

उनले थप भने, ‘पदमा रहँदा मात्रै होइन पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा