Lite Nepal

आइतबार, पुष २७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता नियुक्त भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पार्टी झापाका नेताहरूसँग डेढ घण्टा छलफल गरेका छन्।

आइतबार ललितपुर-१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग कुराकानी गरेका हुन्।

‘हामी पार्टी सभापति रवि लामिछानेसहित पार्टी नेतृत्वसँग कुराकानी गर्न काठमाडौँ आएका थियौँ। यही बेला मेयर बालेन साहसँग पनि छलफल गरौँ भनेर ज्वागल गएका थियौँ,’ पाठकले भने, ‘कुराकानीका क्रममा उहाँले आफू झापा-५ बाट उम्मेदवारी दर्ता गर्ने बताउनुभयो।’

अध्यक्ष पाठकका अनुसार कुराकानीका क्रममा मेयर बालेन झापा-५ बाट लड्ने निधोमा पुगिसकेको बताएका थिए। मेयर बालेनले आफ्नो टिमले झापा-५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्भेक्षण गरेको समेत जानकारी गराएका थिए।

स्थानीय आवश्यक, त्यहाँका नागरिकको चाहना आदि समेटेर केही सामग्री पनि तयार पारेको र रास्वपाको जिल्ला पार्टीले केही तयार पारेको भए त्यसको खाका पठाउन भनेको पाठकले बताए।

‘उहाँहरूले एकसरो सर्भेक्षण गर्नुभएको रहेछ। स्थानीय आवश्यकता आदि बुझेर ब्लुप्रिन्टजस्तो पनि तयार पार्नु भएको रहेछ। कुराकानीकै क्रममा उहाँले तपाईँले केही तयार पार्नुभएको छ भने त्यो पनि पठाउनुहोस् भन्नुभएको छ,’ पाठकले भने।

संवादकै क्रममा मेयर बालेनले केही दिनपछि सामाजिक सञ्जाल फेसबुकबाटै आह्वान गर्ने गरी तयारी गरिरहेको समेत जानकारी दिएका थिए।

‘उहाँको मनस्थिति हेर्दा झापा-५ बाटै चुनाव लड्नेजस्तो पायौँ। विस्तृत त पार्टीमा छलफल होला,’ पाठकले भने।

झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। उनी त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन्।

२०६४ मा भने अध्यक्ष ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं