काठमाडौं । सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाइएको हो ।
धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ । उजुरीमा बालबालिका ऐन, २०७५ अनुसार राजनीतिक उद्देश्यका लागि बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था उल्लंघन भएको उल्लेख छ ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उजुरी अध्ययनका लागि समिति गठन भइसकेको छ । ऐन उल्लंघन प्रमाणित भए जरिवाना तथा उम्मेदवारी खारेजसमेत हुन सक्ने व्यवस्था छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
