काठमाडौं । नेकपा एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क कमिटीले एमाले उम्मेदवार क्षितिज थेबेलाई फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतले विजयी गराउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्ने भएको छ ।
कमिटीको मंगलबार सम्पन्न विस्तारित बैठकले आफ्नो उम्मेदवार थेबेलाई विजय गराउने दृढ संकल्पसहित संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी व्यवस्थापनका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा रहेको ताप्लेजुङवासीसँग प्रत्यक्ष संवाद र भावनात्मक एकताका लागि उम्मेदवार थेबेसहितको बृहत् भेटघाट कार्यक्रम गर्नेदेखि प्रचार–प्रसार र समन्वयका लागि उपसमितिहरू गठन गर्दै सक्रिय रूपमा परिचालन गर्ने सम्मका निर्णय भएको ताप्लेजुङ–काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष विद्याप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै ताप्लेजुङ जिल्लामा निर्वाचन प्रचार–प्रसार तथा सहयोगलाई थप प्रभावकारी बनाउन जिल्ला सम्पर्क कमिटी अध्यक्ष पौडेलको संयोजकत्वमा ३०१ सदस्यीय ‘काठमाडौं स्थित ताप्लेजुङवासी सहयोग समिति’ गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
‘काठमाडौंमा बसोबास गर्नु भएका ताप्लेजुङका सबै पालिकासँग सशक्त समन्वय कायम गर्न पालिकास्तरीय समन्वय समूहहरू गठन गर्ने, निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित र परिणाममुखी बनाउन आवश्यक अन्य विभिन्न व्यवस्थापन उपसमितिहरू गठन गर्ने लगायतका महत्वपूर्ण निर्णय भए,’ अध्यक्ष पौडेलले लाइट नेपालसँग भने ।
उनका अनुसार यहीँ १६ गते शुक्रबार कमिटिले उम्मेदवार थेबेसहितको बृहत् भेटघाट कार्यक्रमको आयोजना गर्ने तयारी भएको छ ।
ताप्लेजुङमा मतदाता नामावली भएर पनि विभिन्न व्यवसाय, जागिर र अन्य कारणले काठमाडौंमा तीन हजार बढी ताप्लेजुङका नागरिक रहेका छन् । उनीहरूले गर्ने मतदान नै कुनै पनि उम्मेदवारका लागि हार–जीतको प्रमुख कारण हुने भएकाले काठमाडौंमा हुने ताप्लेजुङेहरूको कार्यक्रमलाई नेता तथा उम्मेदवारले महत्वकासाथ हेर्ने गरेका छन् ।
