काठमाडौं । नेकपा (एमाले)बाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका एमाले नेता क्षितिज थेबेले काठमाडौंमा रहेका ताप्लेजुङवासीसँग भेटघाट गर्ने भएका छन् ।
भोली (माघ १६ गते शुक्रबार) काठमाडौंको धुम्बाराहीमा रहेको सूर्य पार्टी प्यालेसमा विषेश कार्यक्रमको आयोजना गर्दै जिल्लावासीसँग साक्षात्कार र संवादका लागि भेटघाट गर्ने तयारी गरेको नेता थेबेले लाइट नेपाललाई बताए ।
‘काठमाडौंमा रहनुभएका सम्पूर्ण ताप्लेजुङवासी आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी साथै प्रिय मित्रहरूलाई मैले निमन्त्रण गरेको छु,’ थेबेले भने, ‘आसन्न प्रतिनिधिसभा निर्वाचनको विषयमा उहाँहरूसँग साक्षात्कार र संवाद गर्नेछु ।’
ताप्लेजुङमा मतदाता नामावली भएर पनि विभिन्न व्यवसाय, जागिर र अन्य कारणले काठमाडौंमा तीन हजार बढी ताप्लेजुङका नागरिक रहेका छन् । उनीहरूले गर्ने मतदान नै कुनै पनि उम्मेदवारका लागि हार–जीतको प्रमुख कारण हुने भएकाले काठमाडौंमा हुने ताप्लेजुङेहरूको कार्यक्रमलाई नेता तथा उम्मेदवारले महत्वकासाथ हेर्ने गरेका छन् ।

