चितवन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका हुन् ।
उपमहासचिव भट्टराईले भने “दुनियाका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा टेकेका दलहरुले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र हुईममा बनेका दलहरु स्थायी हुँदैनन् ।” यिनीहरुले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने भन्दै उनले थपे “राजनीतिक दल भनेको राष्ट्रका खम्बाहरु हुन् । त्यो खम्बा कमजोर हुनु हुँदैन ।” अहिले नेपालमा नक्कली मानिसहरु देखा परेर पपुलिजमको आधारमा नक्कली पार्टी खडा गरेको बताए ।
राजनीतिक दल र नेतृत्व जनतासँग संवाद गर्ने हुनुपर्ने भन्दै उनले जनताले सुनिने र देखिने हुनुपर्ने बताए । उनले भने “राजनीतिक दल र नेतृत्व जनताको पहुँचमा हुनुपर्छ । जनताले छुन, हेर्न र आलोचना गर्न सक्ने र जनताको विरोध र आलोचना सहन सक्ने हुनुपर्छ ।” जनताले नदेखेको छुन पनि नपाएको र प्रश्न पनि गर्न नपाएको नेतृत्व अहिले आईरहेको उनको भनाई छ ।
यो राष्ट्रको भविष्यसँग जोडिएको विषय भएकाले आम जनतालाई आवेग र उत्तेजनामा आएर वा पपुलिजमको भरमा नभई ठण्डा दिमागले सोचेर आगामी ५०–१०० वर्ष देश कसरी अगाडि जान सक्छ भन्ने सोचेर मतदान गरी विश्वासिलो नेतृत्व चयन गर्न उनले अपिल गरे ।
