Lite Nepal

शुक्रबार, माघ २३, २०८२

विराटनगर । बुढीगंगा गाउँपालिका ६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले ती समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

बुढिगंगा गाउँपालिका–६ बौराहामा ढकालसँग स्थानीय नेता कार्यकर्ता तथा सर्वसाधारणबिच भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित सवाल उठाइएका थिए । सहभागीहरूले स्थानीय आवश्यकता र समस्यालाई नीति तथा योजनामार्फत समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियामा उम्मेदवार ढकालले जनताको आवाज नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै विकासको केन्द्र जनता नै भएकाले यहाँ उठेका सुझाव र प्रश्नलाई आगामी योजनामा समेटिने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवाको सशक्तीकरणमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे ।

ढकालले बुढीगंगा क्षेत्रको समग्र विकासका लागि स्थानीय आवश्यकता अनुसार कार्यक्रम अघि बढाइने स्पष्ट पारे । करिब ४० वर्षदेखि मोरङका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले जनतासँग सजिलै भेटघाट गर्न सकिने र जनजीवनसँग जोडिएको जनप्रतिनिधिको रूपमा आफू स्थापित भएको बताए । आगामी दिनमा पनि मोरङ क्षेत्र नं. ६ का विकासका मुद्दा सशक्त रूपमा उठाइने उनले प्रतिबद्धता जनाए ।

स्थानीयवासीका अनुसार बौराहाका अधिकांश भित्री सडक कच्ची रहेकाले वर्षा याममा हिलो र हिउँदमा धुलोका कारण आवतजावत कठिन हुँदै आएको छ । नाली, सडक बत्ती र पुल–पुलेसाको अभावले दैनिक जीवन प्रभावित भएको उनीहरूको भनाइ छ । सुरक्षित खानेपानी सबै घरधुरीमा सहज रूपमा नपुग्दा स्वास्थ्य जोखिमसमेत बढ्दै गएको छ ।

स्वास्थ्य सेवामा पहुँचको अभाव यहाँको अर्को प्रमुख समस्या हो । नजिकैको स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति नहुँदा सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । स्थानीय स्तरमा रोजगारीका अवसर सीमित हुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् ।

कृषि बौराहाको मुख्य पेसा भए पनि सिँचाइ सुविधा, आधुनिक प्रविधि र बजार व्यवस्थापन कमजोर रहेको किसानको गुनासो छ । उत्पादनको उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुँदै गएका छन् । शिक्षा क्षेत्रमा पनि विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सामग्री र दक्ष शिक्षकको अभाव देखिन्छ ।

यी सबै समस्यालाई सम्बोधन गर्दै उम्मेदवार विनोद ढकालले बौराहाको समग्र विकासका लागि स्पष्ट योजना अघि सारेका छन् । ‘बौराहाको विकास मेरो प्राथमिकता हो । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीलाई पहिलो स्थानमा राखेर योजनाबद्ध रूपमा काम गर्नेछु,’ ढकालले भने ।

स्थानीयवासीहरूले ढकालको पहुँच, संवादमुखी स्वभाव र विकासप्रतिको प्रतिविद्धताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । बौराहामा दिगो विकास र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा ढकाललाई समर्थन गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा