ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ५१.४५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ९० हजार ३२७ मतदातामध्ये ४६ हजार ४ सय ७४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार मतदान गर्नेहरूमध्ये २५ हजार ३ सय ९९ पुरुष र २१ हजार ७५ महिला मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रत्यक्षतर्फ ४८ हजार ५ सय ९३ मत खसेको थियो।
त्यतिबेला ८८ हजार २ सय ८५ मतदाता रहेकामा अहिलेको निर्वाचनमा मतदान प्रतिशत केही कम देखिएको छ ।
मतदान सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ ल्याउने काम सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक रहेका मतदान केन्द्रका मतपेटिका धमाधम भण्डारण गर्न थालिएको छ ।
हिमाली क्षेत्रका ओलाङचुङगोला, घुन्सा, याङमा र ग्याब्ला मतदान केन्द्रका मतपेटिका भने हेलिकोप्टरमार्फत शुक्रबार बिहान मात्रै ल्याइने भएको छ । हेलिकोप्टर फुङलिङ आइपुगेको र मौसम अनुकूल भएलगत्तै ती क्षेत्रबाट मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी सेढाइँले जानकारी दिए ।
अन्य मतदान केन्द्रका मतपेटिका भने शुक्रबार बिहान ३ बजेसम्म फुङलिङ ल्याइपु¥याउने कार्ययोजना रहेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले बताए ।
सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजालीसहित दुई वटा मतगणना स्थल तयार गरिएको छ ।
मतगणना सुरु भएको करिब १८ घण्टाभित्र प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरी त्यसपछि समानुपातिकतर्फको मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।
