Lite Nepal

बुधबार, फाल्गुण २७, २०८२

दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मंगलबारदेखि बाघको गणना सुरु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताए । उनका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ ।

निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले भने, “त्यहीँ फोटोको आधारमा बाघ गणना गरिन्छ, क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन ।”

उनका अनुसार शुक्लाफाँटामा बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोली खटिएको छ । त्यसैगरी आवश्यक भएको हात्तिसमेत परिचालन गरिनेछ । “यहाँ ११ वटा क्याम्पमा छुट्याएर जनशक्ति परिचालन गरिएको छ, २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ”, उनले भने । “एक ग्रिडमा एक जोडी क्यामेरा जडान गरिन्छ ।” निकुञ्जका अनुसार डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ ।

शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणनाअनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन् । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ । थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घनत्व बढी भएका कारण यहाँ बाघको सङ्ख्या अलेख्य रूपमा बढेको संरक्षण अधिकृतहरू बताउँछन ।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जले परिचित छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं