Lite Nepal

आइतबार, जेठ ०३, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन्।

शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका थिए। “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, प्रधानमन्त्रीले भनेका छन् ।

साथै, ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९स्३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी छन् ।

“निरन्तरको अदम्य साहस, कठोर आत्म अनुशासन र कर्मप्रतिको इमानदार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, प्रधानमन्त्री शाहले भनेका छन्, “खुसीको यो क्षणलाई सबै जनासँग साझा गर्दै दुवै जना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उनको भनाइ छ । हिमाललाई ईश्वर झैँ पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताएका छन् ।

“सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले भनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं