काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन् ।
आइतबार इलाम नगरपालिकाको नगर सभामा बोल्दै नेता आङ्देम्बेले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने भएको स्पष्ट पारे ।
किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेको बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको उनको भनाइ थियो ।
‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याइरहेको छ । त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौँ,’ आङ्देम्बेले भने ।
उनले सरकार ठूलो जनमतबाट निर्वाचित भएर गठन भए पनि त्यसलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको भएको बताए । ‘संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईँहरूको आवाज हो । सरकारलाई जनताप्रति गरिएको प्रतिबद्धतामा अझ खरो रूपमा उत्रिन सचेत गर्ने काम प्रतिपक्षीको हो र त्यो काम हामीले निरन्तर गरिरहेका छौँ,’ उनले भने ।
आङ्देम्बेले देशभरका नागरिकमा सरकारप्रति बढ्दो असन्तुष्टि देखिएको पनि बताए । मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षमा समेत धेरै नागरिक पुग्न थालेको उनको भनाइ थियो ।