गृहद्धारा संगठन तथा व्यवस्थापनमा पुनर्संरचना
विराटनगर । सरकारले गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन पुनर्संरचना गरेको छ । नयाँ संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्व संरचनामा पनि परिवर्तन गरिएको छ ।
यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने ९ जिल्लामा अब उपसचिव प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था कायम गरिएको छ । यससँगै ती जिल्लाका ९ सहसचिव दरबन्दी कटौती भएका छन् ।
यसअघि १६ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था रहेकामा थप ९ जिल्ला समेटिएपछि अब २५ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहने भएका छन् । बाँकी जिल्लामा भने सहसचिव प्रमुख जिल्ला अधिकारीको व्यवस्था यथावत् रहनेछ ।
यसैबिच मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रण विभाग पनि स्थापना गरिएको छ । यसअघि शाखाका रूपमा रहेको लागूऔषध नियन्त्रणसम्बन्धी संरचनालाई स्तरोन्नति गर्दै विभाग तहमा विस्तार गरिएको हो ।
नयाँ संरचनाअनुसार लागूऔषध नियन्त्रणसम्बन्धी कार्यलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन छुट्टै लागूऔषध नियन्त्रण विभाग स्थापना गरिएको छ । यसअघि उक्त कार्य मन्त्रालयअन्तर्गतको शाखाबाट सञ्चालन हुँदै आएको थियो ।
पुनर्संरचनासँगै गृह मन्त्रालयको समग्र दरबन्दी पनि बढाइएको छ । विशेषगरी अफिसर तथा सहायक कर्मचारीतर्फ करिब एक सयको हाराहारीमा नयाँ दरबन्दी थपिएको स्रोतले जनाएको छ ।