धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ स्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरबाट ठूलो परिमाणमा लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा छथर जोरपाटी गाउँपालिका-४ घर भई हाल चौबिसे गाउँपालिका–४ मा होटेल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मा रहेका छन् ।
शनिबार दिउँसो उक्त खाली घरमा अवैध रूपमा गाँजा सञ्चय गरिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा प्लास्टिकका ४८ वटा बोरामा राखिएको जम्मा ८ सय ४ किलोग्राम लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।