Lite Nepal

आइतबार, साउन १७, २०८३

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो १६ वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार, यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असार ३ गतेदेखि विसं २०८३ असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । यो तथ्यांकले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उनको भनाइ छ ।

कार्यालयका अनुसार, २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठजनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८२/८३ मा भने ६ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही १० लाखका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए ।

अभिलेखअनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार, २०८२ र २०८३ को हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । विसं २०६७ देखि हालसम्म १० जना गैरनेपालीको हात्तीको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए ।

मानिस मात्र होइन, मानव–हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादवले बताए । कार्यालयका अनुसार, २०६२ सालदेखि हालसम्म २८ वटा जंगली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका उनले जानकारी दिए ।

प्रमुख यादवका अनुसार, वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण हुन् । उनले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी र उद्धारका गतिविधि सञ्चालन भइरहेको बताए । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं