सुजता लिम्बू

सोमबार, साउन १८, २०८३

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका प्रतिष्ठित उद्योगी बेनीगोपाल मुन्दडाको घरमा अपरेशन चलायो । सोमबार विहान झण्डै ५ घण्टा लामो खानतलासीमा भने प्रहरीको हात रित्तै भएको प्रहरीले नै निकालेको विज्ञप्तिले पुष्टि गर्छ ।

विराटनगरका प्रतिष्ठित उद्योगी, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवासमा छापा मारेको भनिए पनि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भने बेनीगोपाल मुन्दडाको घरमा खानतलासी गरिएको बताए ।

घरदेखि कार्यालयसम्म गरिएको खानतलासीका क्रममा कुनै पनि सामग्री, नगद वा अन्य प्रमाण फेला नपरेपछि प्रहरी टोली रित्तै फर्किएको हो । मोरङ प्रहरीले बिहानदेखि विराटनगर महानगरपालिका–७ स्थित मुन्दडा निवास र कार्यालय क्षेत्रमा ठूलो सुरक्षा घेरा बनाएर खानतलासी सुरु गरेको थियो ।

अपरेशनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । तर, प्राप्त सूचनाअनुसार कुनै पनि सामग्री फेला नपरेको एसपी कटवालले बताए । उनका अनुसार अवैध रूपमा ठूलो परिमाणमा नगद संचित गरेर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी अपरेशनमा गएको थियो ।

एसपी कटवालले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार खानतलासी गरेका हौँ । तर, सूचनाअनुसार केही पनि फेला परेन । सूचनामा गैर कानुनी चिजबिजहरु लुकाई राखेको भन्ने विशेष थियो ।’

प्रहरीले घर र कार्यालयमा छापा मारेर फर्किएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बेनीगोपाल र प्रकास मुन्दडा । तस्बिर : सागर विश्वास

उसो त बेनीगोपाल मुन्दडाका भतिजा प्रकाश मुन्दडाको परिवार सुनचाँदी खरिद–बिक्रीसँगै हुण्डी कारोबारमा समेत संलग्न रहेको आरोप स्रोतको छ । मुन्दडा परिवार एउटै घरमा बस्दै आएको छन् ।

लामो समय लगाएर घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरिएको भए पनि केही पनि फेला परेन । त्यसपछि प्रहरी टोली फर्किएको थियो ।

त्यति मात्र होइन, सधैं सत्ता र शक्तिको पहुँचमा रहने प्रकाश मुन्दडाले केपी शर्मा ओली नेतृत्वको सरकारका बेला सुनचाँदीको व्यापारमा राम्रो अवसर पाएको तथा चुनावी अभियानमा समेत आर्थिक सहयोग गर्ने गरेको स्रोतको दाबी छ ।

यस्तै, एमालेका नेता महेश बस्नेत सँग मुन्दडा परिवारको निकट सम्बन्ध रहेको चर्चा छ । निकट स्रोतका अनुसार बस्नेतलाई आर्थिक सहयोगदेखि संरक्षणसम्ममा मुन्दडा परिवारको साथ रहेको दाबी गरिएको छ ।

मुन्दडा समूहले सञ्चालन गर्दै आएको धोनी साबुन, सेन्ट्रल महलमा सेयर लगायतका व्यवसायसमेत चर्चामा रहने गरेका छन् ।

यता, बेनीगोपाल मुन्दडाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीले घरको कुनाकुना खानतलासी गरेको जानकारी दिए । ‘उहाँहरूले घरका हरेक कोठा, किचन, भण्डार र दराजहरू समेत एउटा–एउटा गरेर खोलेर हेर्नुभयो । तर, केही पनि फेला परेन र फर्किनुभयो,’ उनले भने । उनले प्रहरी बिहान करिब ५ बजेतिर आएको र अनुसन्धानमा आफूहरूले पूर्ण सहयोग गरेको बताए ।

‘सूचना माथिल्लो निकायबाट पनि आएको हुन सक्छ । अनुसन्धान भनेको प्राप्त सूचनाको पुष्टि गर्ने प्रक्रिया हो । कुनै सामग्री फेला परेन भन्दैमा अनुसन्धान समाप्त भयो भन्ने अर्थ लाग्दैन । आवश्यकता अनुसार अनुसन्धान निरन्तर अगाडि बढ्न सक्छ,’

प्रकाश मुन्दडाले पनि सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीले प्राप्त सूचनाका आधारमा आफ्नो जिम्मेवारी पूरा गरेको प्रतिक्रिया दिए । भने, ‘प्रहरीले सूचनाका आधारमा काम गर्नुपर्छ, त्यो प्रणाली हो । उहाँहरू आउनुभयो, सबै कुरा राम्रोसँग हेर्नुभयो र केही पनि फेला परेन ।’ प्रहरीले आफूलाई क्लिन चिट दिएर फर्किएको बताउँदै उनले प्रहरीको कामप्रति कुनै गुनासो नरहेको स्पष्ट पारे ।

खानतलासीका क्रममा केही समय मुन्दडा निवास वरपरको सडक तथा आवतजावतमा समेत प्रहरीले कडाइ गरेको थियो । कुनै सामग्री वा प्रमाण फेला नपरेपछि प्रहरी टोली मुचुल्का उठाएर फर्किएको छ ।

यस्तो घटनाले प्रहरीको सूचना प्रणालीमाथि पनि प्रश्न उठाएको छ । सुरक्षा विज्ञहरूका अनुसार सूचना प्रणाली बलियो भए पनि कहिलेकाहीँ सूचना चुहावट (लिक) हुने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा प्रहरीले प्राप्त सूचनाको सत्यता पुष्टि गर्नुपर्ने दायित्व हुन्छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङका अनुसार प्रहरीको मुख्य काम नै अनुसन्धान गर्नु हो । सूचना प्राप्त भएपछि त्यसको पुष्टि गर्ने प्रक्रिया अनुसन्धानकै एउटा चरण हो ।

‘सूचना माथिल्लो निकायबाट पनि आएको हुन सक्छ । अनुसन्धान भनेको प्राप्त सूचनाको पुष्टि गर्ने प्रक्रिया हो । कुनै सामग्री फेला परेन भन्दैमा अनुसन्धान समाप्त भयो भन्ने अर्थ लाग्दैन । आवश्यकता अनुसार अनुसन्धान निरन्तर अगाडि बढ्न सक्छ,’ उनले भने ।

नेपाल प्रहरीका पूर्वएसएसपी भीम दाहालका अनुसार प्रहरी कुनै पनि आधारबिना खानतलासीमा जाँदैन । कुनै न कुनै सूचना वा सुराककै आधारमा अनुसन्धान अघि बढाइने भएकाले कहिलेकाहीँ सूचना चुहावट भएको हुन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने उनको भनाइ छ ।

दाहालले भने, ‘प्रहरीसँग कुनै न कुनै सुराक हुन्छ । सम्बन्धित स्थानबारे सूचना आउनु अस्वाभाविक होइन । तर, अनुसन्धानका क्रममा सूचना चुहावट भएको हुन सक्छ । यस्तो अवस्थामा नागरिकको सम्मान र आत्मसम्मानमा असर नपरोस् भन्नेमा पनि प्रहरी संवेदनशील हुनुपर्छ । त्यसका लागि सूचना संयन्त्र अझ बलियो हुन आवश्यक छ । सूचना गोप्य राखेर अनुसन्धान अघि बढाउनुपर्छ । यदि सूचना चुहावट भएको देखिए त्यसको पनि छुट्टै अनुसन्धान हुनुपर्छ ।’

प्रहरी अधिकृतद्धय कुनै सामग्री फेला नपर्दैमा प्रहरीको अनुसन्धान असफल भयो भनेर निष्कर्षमा पुग्न नहुने बताउँछन् । उनीहरूका अनुसार अनुसन्धान निरन्तर चलिरहने प्रक्रिया हो र कहिलेकाहीँ सूचना चुहावट वा प्रमाण सार्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

यद्यपि, यस्ता अपरेशनले सम्बन्धित व्यक्तिको प्रतिष्ठा र सामाजिक छविमा पर्ने असरलाई समेत उत्तिकै गम्भीर रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं