विराटनगर । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षिय साजन मुखिया रहेका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
भारतबाट नेपाल आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सग्रामपुर सर्लाहीले शंका लागि जाँच गर्दा साथमा फेला परेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । बरामद रुपैयाँमा एक हजार दरको १३ सय थान नेपाली रुपैयाँ रहेको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालय सर्लाहीमा पठाइएको छ ।