विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा झडपका घाइते २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएपछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन ।
मृतकको घर अगाडि र मुख्य सडकमा स्थानीय बासिन्दाहरूले रुखका मुढा तेर्स्याएर बाटो अवरुद्ध गरेपछि कप्तानगन्ज बजार पूर्ण रूपमा ठप्प बनेको छ ।
त्यसै गरी, छिमेकी बजार देवानगन्ज पनि आंशिक रूपमा मात्र खुलेको छ। अवस्था असहज बन्दै गएपछि स्थानीयमा त्रास फैलिएको छ ।
यसैबिच, यस तनावपूर्ण स्थितिका बारेमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बाहिर हल्ला गरिएको जस्तो डरलाग्दो वा नियन्त्रण बाहिरको अवस्था नरहेको स्पष्ट पारे ।
उनले भने,‘बाहिर हल्ला जस्तो अवस्था छैन ।’ उनको भनाइ अनुसार काठमाडौँमा उपचारको क्रममा निधन भएका व्यक्तिको विषयलाई लिएर केही असहजता देखिए पनि गृहमन्त्री आफै पुगेर वार्ता गरिरहेका छन् । उने भने,‘हिजो गृहमन्त्री ज्यु आफै हस्पिटलमा पुगेर वार्ता बस्नुभयो, आजसम्म वार्ता मिल्छ ।’
प्रशासनले स्थानीय बासिन्दाहरूलाई संयम अपनाउन, अफवाहको पछि नलाग्न र शान्तिपूर्ण रूपमा समस्या समाधानका लागि सहयोग गर्न अपिल गरेको छ। संवेदनशील क्षेत्रहरूमा सुरक्षा गस्तीलाई अझ कडा पारिएको छ ।