विराटनगर । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाई छिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष खोजतलास अभियानका क्रममा बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न वनबाट ती बन्दुक फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले सबैभन्दा बढी ३० नाल, इलाका प्रहरी कार्यालय अमिलियाले ७ नाल, प्रहरी चौकी रामपुरले १३ नाल तथा प्रहरी चौकी हाँसिपुरे ५ नाल भरुवा बन्दुक बरामद गरेको एसपी श्रेष्ठले जानकारी दिए ।
उनको अनुसार बरामद गरिएका बन्दुक जङ्गलका ओडार, झाडी र ढुङ्गाको आडमा लुकाई छिपाइ राखिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले बरामद गरिएका अवैध भरुवा बन्दुक कसले र किन लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। साथै अवैध हतियार नियन्त्रण र शान्ति–सुरक्षा सुदृढ बनाउन यस्ता विशेष अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ