धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा प्रहरीले ट्रकबाट ६४७ किलोग्राम गाँजासहित चालक र सहचालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार बिहान करिब ५ः३० बजे विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ वटा पोकाफेला पारेको थियो । बरामद गाँजाको तौल गर्दा जम्मा ६४७ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राई लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।