विराटनगर । अभिषेक गिरी पुनः पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी रकम बुझाएर बिहीबार छुटे लगत्तै मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आपराधिक लाभको आरोपमा काठमाडौंमा पक्राउ गरेर विराटनगर ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार माेरङमा अपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढ्नेछ ।
विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुल गरेको भनेर किटानी जाहेरी दिएका थिए ।
सीआईबीले गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकालेको थियो । सीआईबीकै रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध साउन १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
सोही मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर छुटेपछि उनी पक्राउ परेका हुन् ।