विराटनगर । विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा प्रहरीले छापा हानेको घटनामा सूचनाको विश्लेषण र प्रमाणीकरणमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले छापा मार्नुअघि प्राप्त सूचनामाथि पर्याप्त विश्लेषण र प्रमाणीकरण हुन नसकेको बताएका हुन्।
पत्रकारले विराटनगर छापा प्रकरणबारे सोधेको प्रश्नमा काफ्लेले भने, ‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो, त्यो भएको देखिँदैन।’
प्रहरी प्रधान कार्यालयले उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग स्पष्टीकरणसमेत मागेको छ।
व्यवसायी मुदण्डाको घरमा छापा मार्नुको आधार र कारण खुलाएर लिखित जवाफ पेस गर्न एसपी कटवाललाई भनिएको हो।
प्रहरी प्रधान कार्यालयको प्रारम्भिक निष्कर्षमा सूचना प्राप्त भएपछि त्यसको विश्वसनीयता पुष्टि तथा आवश्यक विश्लेषण गर्ने प्रक्रियामै कमजोरी देखिएको प्रवक्ता काफ्लेको भनाइ छ।
घटनाको विषयमा सम्बन्धित प्रहरी अधिकारीसँग लिखित जवाफ मागिएको अवस्थामा त्यसबाट आउने विवरणका आधारमा थप प्रक्रिया अघि बढ्ने देखिएको छ।