Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई), २०२६ को प्रतिवेदनले नेपालको अवस्था विगत वर्षभन्दा केही सुध्रिएको देखाएको छ।

भोकमरी सूचकांक, २०२६ मा १२२ देशमध्ये नेपाल ७२ औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको हो । पछिल्ला वर्षहरूमा केही प्रगति भएको तथ्यांकले देखाएको छ ।

नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको जीएचआई अंक १४.८ थियो । उक्त अंकमा थोरै सुधार भई यसपल्ट १४.५ अंकमा झरेको हो । यसले नेपालको मध्यम खालको भोकमरीको स्थिति दर्साउँछ ।

सन् २००० मा जीएचआई सूचक ३७.१ को डरलाग्दो अवस्थामा थियो । त्यतिबेला नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा रहेको थियो । त्यसयता क्रमिकरूपमा पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालले क्रमशः सुधार गरेको देखिन्छ ।

तथापि, सन् २०२४ मा १४.७ रहेको नेपालको जीएचआई अंक २०२५ मा आउँदा बढेर १४.८ पुगेको थियो । यसपालि भने केही प्रगति देखिएको छ । आठ वर्षअघि सन् २०१८ मा नेपालले १८.४ अंक पाएको थियो । भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउँछ ।

दक्षिण एसियाली मुलुकमा पनि नेपालको अवस्था प्रगतिउन्मुख देखिएको छ । सूचकांकमा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा रहेको छ । बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १०० औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन् ।

अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ । यो अवस्था विश्वको औसत १८.१ भन्दा बढी हो । दक्षिण एसियामा भोकमरी, कुपोषण तथा खाद्य सुरक्षासम्बन्धी चुनौती भने अझै कायमै छ । सूचकले दक्षिण एसियामा भोकमरी र कुपोषणको समस्या गम्भीर अवस्थामै रहेको संकेत गरेको छ ।

विश्व भोकमरी सूचकांकमा चार प्रमुख सूचक छन् । अपर्याप्त क्यालोरी उपभोग गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या (पुड्कोपन), उचाइअनुसार तौल कम हुने समस्या (ख्याउटेपन) र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु दरलाई आधार मानिन्छ।

जसका आधारमा देशको भोकमरीको अवस्था मूल्यांकन गरिन्छ । सूचकांकमा प्राप्त अंक घट्दै जानुले समग्र भोकमरीको अवस्था प्रगतिउन्मुख भएको संकेत गर्छ ।

सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको छ । नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दरमा उल्लेख्य सुधार आएको छ ।

सन् २००० मा यस्तो समस्या ५५.९ प्रतिशत बालबालिकामा देखिएकोमा सन् २०२६ मा आउँदा घटेर २६.२ प्रतिशत रहेको छ । यस वर्ष पुड्कोपनको दर २९.७ प्रतिशत विन्दुले घटेको छ । तर, पोषण र खाद्य सुरक्षाका क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ ।

नेपालमा कुपोषणको अवस्था अझै पनि ठूलो सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा रहेको देखिन्छ । कुपोषण कृषि ढाँचा, उत्पादन पद्धति, खाद्य प्रणाली र उपभोगमा आएको परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको छ।

जलवायु परिवर्तनको प्रभाव, जैविक विविधताको क्षति र आप्रवासनजस्ता चुनौतीका कारण कमजोर र सीमान्तकृत समुदायहरूलाई खानामा पहुँच सुनिश्चितमा कठिनाइ रहने गरेको विश्व भोकमरी सूचकांकबाट उजागर हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं