मोरङ । मोरङको विराटनगरबाट अवैध लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित लागू औषध बिक्री–वितरण गरिरहेको अवस्थामा ३१ वर्षीय महमद हुसेनलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार लागू औषध कारोबारमा संलग्न गिरोहहरूको सूक्ष्म निगरानी गर्ने क्रममा शनिवार हुसेनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका हुसेन विराटनगर महानगरपालिका वडा नं. १५ का स्थानीयवासी हुन्।
उनको साथबाट १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइन र १ थान मोबाइल बरामद गरिएको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।
हाल हुसेनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको ब्युरोले जनाएको छ ।