विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले ठुलो परिमाणमा लागू औषधसहित १० जनालाई पक्राउ गरेको छ। सुनसरीबाट मात्रै ७ जना पक्राउ परेका छन् भने मोरङ र झापाबाट १ र २ जना पक्राउ परेका छन्।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले साउन २३ गते वराहक्षेत्र वाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला पारेको थियो।
प्रहरीले कार चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरीलाई पक्राउ गरेको छ।
त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित रिटिङ टोलबाट ९३० मिलिग्राम ब्राउन सुगरसहित धरान–११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान–१६ की २४ वर्षीया स्वस्तिका गुरुङ पक्राउ परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–१५, मण्ठा पोखरीस्थितबाट प्रहरीले विराटनगर–१५ का ३१ वर्षीय मोहम्मद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै, झापाको मेचीनगर नगरपालिका–८, सरस्वती टोलस्थितबाट प्रहरीले प्रदेश १–०१–००२ ह ३५६९ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २५ वर्षीय गणेश चौधरी र झापाको मेचीनगर नगरपालिका–११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।