काठमाडौँ । लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि रुकुमपूर्व प्रशासनले पुष्पलाल (मध्यपहाडी) राजमार्गमा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार साउन २८ गते दिउँसोदेखि परेको वर्षाका कारण जिल्लाभित्र पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायतका क्षेत्रमा पहिरो खसेको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै थप क्षतिको जोखिमसमेत रहेको प्रशासनले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन वर्षाको सम्भावना कायमै रहेको जनाएको तथा वर्षाका कारण सडकमा थप क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले जारी गरेको सूचनाअनुसार साउन २९ गते साँझ ७ बजेदेखि साउन ३० गते बिहान ७ बजेसम्म मध्यपहाडी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
प्रशासनले दिनको समयमा समेत यात्रा गर्नुअघि मौसम तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरिएको छ।