विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ विषयक देशव्यापी नीति संवाद अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले नयाँ शिक्षा ऐन तर्जुमा गर्न सरकार गम्भीर रहेको बताउँदै विद्यालय शिक्षालाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारलाई ऐनले प्राथमिकतामा राख्ने जानकारी दिए।

मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले शिक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै सबै सामुदायिक विद्यालयको गुणस्तर सुनिश्चित गर्ने दिशामा अघि बढिरहेको उल्लेख गरे। उनले विद्यालयलाई बजेटको पहुँचका आधारमा मात्र नभई वास्तविक आवश्यकता र अवस्थाका आधारमा स्रोत तथा बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

शिक्षाविद् विद्यनाथ कोइरालाले विद्यालय शिक्षा सुधारका लागि नीति निर्माण गर्दा विद्यालय तहका वास्तविक अनुभव, आवश्यकता र सरोकारवालाका आवाजलाई समेट्नुपर्ने बताए। प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले विद्यालय तहका वास्तविक समस्या तथा समाधानका सुझावलाई नीति निर्माणको केन्द्रमा पुर्याउन प्रत्यक्ष संवाद महत्वपूर्ण हुने बताए।
कोशी प्रदेशका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी गरी करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा शिक्षक–कर्मचारीका पेशागत समस्या, विद्यालय शिक्षाका चुनौती तथा विद्यमान शिक्षा ऐन, नियमावली र नीतिगत सुधारका विषयमा छलफल भएको थियो।
कार्यक्रममा दिइएको जानकारीअनुसार प्रदेशस्तरीय समूहगत छलफल तथा अनलाइनमार्फत प्राप्त सुझावलाई एकीकृत गरी शिक्षा ऐन, नियमावली तथा शिक्षा नीतिलाई विद्यालय तहका वास्तविक आवश्यकता र सरोकारवालाका सुझावमा आधारित बनाउन पुनः परामर्श गरिनेछ। नीति संवाद अभियान अन्य प्रदेशमा समेत सञ्चालन गरिने जनाइएको छ।