झापा । झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई०को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। हालसम्म मेचीनगरमा चार, बिर्तामोडमा दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधारामा एक–एक जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमित १० जनामध्ये दुई जना उपचाररत छन् भने तीन जना उपचारपछि घर फर्किएका छन्। संक्रमितमध्ये सात महिनाका एक बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।
वर्षायाममा लामखुट्टेको प्रकोप बढ्ने भएकाले जेईको जोखिम पनि बढ्ने भन्दै स्वास्थ्य कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ। घरवरिपरि पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने तथा आवश्यक स्वास्थ्य सावधानी अपनाउन श्रेष्ठले सर्वसाधारणलाई अनुरोध गरेका छन्।