महोत्तरी ।‘सखी हे, झुला पडल फूल बगियाक डार,
सीतासँग झुलथी रघुबर, मन हरषित अपार’
मधेसको महोत्तरीसहित मिथिला क्षेत्रमा विष्णु–लक्ष्मी भक्तिका गीत गुञ्जिन थालेका छन्। साउन शुक्ल तृतीयासँगै शनिबार झुलनोत्सव सुरु भएपछि मिथिलामा झुलागीत गुञ्जिन थालेका हुन्।
हिन्दु परम्पराका आराध्यदेव विष्णु र भगवती लक्ष्मीको आराधना गरिने यस पर्वमा उनीहरूका अवतार मानिने राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलना (एक प्रकारको कोक्रा) मा राखेर भक्ति गीतको लयमा झुलाउने गरिन्छ। साउन पूर्णिमाका दिन समापन हुने यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक उत्सवका रूपमा रहँदै आएको छ।
पर्व सुरु भएसँगै मिथिला क्षेत्रमा झुला महोत्सवको रौनक छाएको छ। महोत्तरीका रामजानकी, लक्ष्मीनारायण तथा राधाकृष्ण मन्दिर र वैष्णव मठहरूमा झुला महोत्सवमा साधुसन्तदेखि सर्वसाधारणसम्म झुमेका देखिन्छन्। मैथिल हिन्दु परम्परामा यो पर्व भक्ति, समर्पण र सांस्कृतिक मनोरञ्जनका दृष्टिले समेत विशिष्ट रहेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन्।
“यो बालरूप भगवान् र भगवतीलाई झुलनामा झुलाइने पर्व हो। श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले कोक्रामा हल्लाउनुभएको प्रतीकात्मक सम्झना यस पर्वमा गरिन्छ,” डा. वैष्णवले भने।
विष्णु–लक्ष्मी भक्तिको यो पर्व घरघरमा नभई मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ। विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता तथा कृष्ण–राधाका प्रतिमालाई विशेष झुलामा राखेर गीत गाउँदै हल्लाउनु पर्वको मुख्य विधि हो। श्रद्धालुले झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै हल्लाएर भक्ति भाव प्रकट गर्छन्।
पर्वका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजासहित झुलाघर पुर्याई पर्वको सुरुवात गरिएको छ। पर्वभरि आमसर्वसाधारण आफ्नो बस्ती नजिकका मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम तथा राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै भक्तिभावमा रमाउँछन्।
झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाउने चलन छ। झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका विभिन्न ठाउँमा मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ–मन्दिर र जनकपुरस्थित जानकी मन्दिरको झुला महोत्सव विशेष प्रसिद्ध छ। यसैगरी महोत्तरीको जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीमा पनि झुला महोत्सव मनाइन्छ।
मिथिलामा यो पर्व रामको जन्मभूमि अवध ९अयोध्या० र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकी गर्दै भित्रिएको विश्वास गरिन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँलाई प्रसन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउने चलन बसेको र विसं १७८७ तिर सन्त सुरकिशोर दासले यसको सुरुवात गराएको मानिन्छ।
जनकपुरमा राम–सीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणिक्यको थुप्रो लागेर पहाडजस्तो बनेको स्थानलाई अहिले मणिपर्वत भनिन्छ। जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तर–पश्चिममा रहेको मणिपर्वतमा झुला पर्वका अवसरमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेर पर्व सुरु गर्ने मिथिला परम्परा छ।
महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्माण गरिएको छ। त्यहाँ लक्ष्मीनारायण मठ तथा मन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाइन्छ। मटिहानीमा अहिले महोत्तरी जिल्ला तथा सीमावर्ती भारतका दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन्।
पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई झुला महोत्सवमा रमाउने गर्छन्।मैथिल परम्पराअनुसार साउन पूर्णिमाका दिन विष्णु–लक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुँडालेर पर्वको समापन गरिन्छ।
मिथिलामा प्रचलनमा रहेका पञ्चाङ्ग विद्यापति र मिथिला हुन्। यी दुवै पञ्चाङ्गमा चन्द्रमासको साउनदेखि वर्ष प्रारम्भ हुन्छ। यसअनुसार साउनमै मनाइने मधुश्रावणी, झुला, लगपाँच (नागपञ्चमी) र रक्षाबन्धनसँगै वर्षभरिका चाडपर्वको सिलसिला सुरु भएको सूचनाका रूपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा–साहित्यका उपप्राध्यापक मनोज झा ‘मुक्ति’ बताउँछन्।