काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने भ्रमणका लागि आज अपराह्न नेपाल आउँदै छन्। उनको भ्रमणलाई नेपाल–भारत सैन्य सम्बन्धमा हुँदै आएको नियमित उच्चस्तरीय संवाद र सहकार्यको निरन्तरताका रूपमा लिइएको छ।
भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिने कार्यक्रम छ। राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा उनलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सोही दिन नेपाली र भारतीय सेनाप्रमुखबीच जंगी अड्डामा द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तामा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा सैन्य तहमा हुँदै आएको समन्वयलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीचको रक्षा तथा सैन्य सम्बन्ध ऐतिहासिक र बहुआयामिक रहँदै आएको छ। दुवै देशका सेनाबीच नियमित उच्चस्तरीय भ्रमणका अतिरिक्त संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदानका गतिविधि सञ्चालन हुँदै आएका छन्।
दुई देशका सेनाप्रमुखलाई एकअर्काको सेनामा मानार्थ महारथीको पदवी दिने अभ्यासले पनि नेपाल–भारत सैन्य सम्बन्धको विशिष्ट प्रकृति झल्काउँदै आएको छ। यो परम्परा सन् १९५० देखि निरन्तर रहँदै आएको हो।
नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने अभ्यासलाई दुई देशबीचको पारस्परिक सम्मान र मैत्रीपूर्ण सम्बन्धको संस्थागत प्रतीकका रूपमा लिइन्छ।
भारतीय स्थल सेनाध्यक्ष सेठको चारदिने नेपाल भ्रमणले उच्च सैन्य तहमा कायम संवादलाई थप निरन्तरता दिनुका साथै दुई देशका सेनाबीच विद्यमान सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।