मुस्ताङ : मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ। जीर्ण अवस्थामा रहेको उक्त एम्बुलेन्स पटकपटक बिग्रिँदा अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो भरपर्दो अवस्थामा छैन। “अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको छ,” उनले भनिन्।
प्राकृतिक विपद्, दुर्घटना तथा अन्य कारणले गम्भीर बिरामीलाई पोखरा तथा अन्य सुगम स्थानका अस्पतालमा रिफर गर्नुपर्दा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या हुने गरेको उनले बताइन्। नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटकपटक माग गरिए पनि हालसम्म उपलब्ध हुन नसकेको उनले गुनासो गरिन्।
अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किएपछि बिरामीलाई थप समस्या भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको स्वीकार गरे।
मुस्ताङका पाँच स्थानीय तहमध्ये चार स्थानीय तहसँग आठ वटा एम्बुलेन्स भए पनि आधा मात्र सञ्चालनमा छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग भने एउटा पनि एम्बुलेन्स छैन। उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एम्बुलेन्स भने नियमित रूपमा सञ्चालनमा रहेका छन्।