Lite Nepal

सोमबार, भाद्र ०१, २०८३

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा संक्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि संक्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार स्थलगत अध्ययनका लागि परिचालन गरिएको टोलीमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहित स्वास्थ्य शाखा प्रमुख, जिल्ला निगरानी सम्पर्क व्यक्ति तथा खोपसम्बन्धी चिकित्सक सहभागी छन् । टोलीले जिल्लामा जेई सङ्क्रमणको अवस्था र जोखिमका सम्भावित कारण पहिचान गरी आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय अघि बढाउने तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दासका अनुसार जिल्लामा सङ्क्रमित भएका सबै १० जनाले जेईविरुद्धको खोप लगाएका थिएनन् । खोप नलगाएका व्यक्तिमा सङ्क्रमण पुष्टि हुनुका साथै मृत्युसमेत भएकाले जेई नियन्त्रणमा खोपको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए । “उपलब्ध तथ्यांकले खोप नलगाएका व्यक्तिमा सङ्क्रमण तथा मृत्युको जोखिम देखाएको छ,” दासले भने, “जेईबाट हुने सङ्क्रमण र मृत्यु रोक्न खोपको पहुँच र प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छ । खोपबाट छुटेका व्यक्तिलाई खोपको पहुँचमा ल्याउन आवश्यक छ ।”

जन्मेको १२ महिनाको उमेरमा जेईविरुद्धको एक मात्रा खोप दिने गरिएको भएतापनि जिल्लामा ४० वर्षमाथिका व्यक्तिमा जेई सङ्क्रमण देखिएपछि पहिलो चरणमा ३० वर्षमाथिका खोप नलगाएका व्यक्तिलाई जेईविरुद्धको खोप दिने अभियान सञ्चालनको तयारीसमेत भइरहेको दासले बताए। स्थलगत अध्ययनबाट प्राप्त तथ्यका आधारमा खोप अभियान तथा अन्य रोकथामका उपायलाई थप प्रभावकारी बनाउने तयारी स्वास्थ्य कार्यालयको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२६ मा हालसम्म नेपालमा ५८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन प्रमुख दासले सर्वसाधरणलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं