काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले म्याद थपका लागि श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराएको थियो।
यसअघि अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो। अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसैबीच, श्रेष्ठको गिरफ्तारीलाई गैरकानुनी दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार नै सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ।