किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म त्यहाँ इबोलाका कारण २ हजार ३२५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९४५ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ।
डीआर कंगोको सार्वजनिक स्वास्थ्य संस्थाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै १०१ नयाँ सङ्क्रमित थपिएका छन्। यो डीआर कंगोमा फैलिएको इबोलाको १७ औँ प्रकोप हो।
यसअघि सन् २०१८–२०२० को प्रकोपलाई डीआर कंगोको सबैभन्दा घातक इबोला प्रकोप मानिन्थ्यो। त्यतिबेला इबोलाका कारण २ हजार २९९ जनाको ज्यान गएको थियो। हालको प्रकोपमा मृत्यु हुनेको सङ्ख्या उक्त रेकर्डभन्दा माथि पुगेको छ। मे १५ मा कंगोले अहिलेको इबोला प्रकोपको औपचारिक घोषणा गरेको थियो। तीन महिनाभन्दा कम अवधिमै मृतक सङ्ख्या २ हजार नाघेको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार यसअघि सन् २०१४–२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप विश्वकै सबैभन्दा ठुलो थियो। गिनी, लाइबेरिया र सिएरा लियोनमा फैलिएको उक्त प्रकोपमा २८ हजार ६१६ जना सङ्क्रमित भएका थिए भने ११ हजार ३१० जनाको मृत्यु भएको थियो।
हालको प्रकोप बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण भएको हो। यस प्रजातिका लागि हालसम्म कुनै पनि खोप वा उपचार स्वीकृत गरिएको छैन। केही प्रयोगात्मक खोप तथा उपचारको परीक्षण भइरहेको भए पनि अहिलेसम्म प्राप्त प्रमाण सीमित छन् र ती मुख्यतः जनावरमा गरिएको अध्ययनमा आधारित छन्। सरकारी तथ्याङ्क अनुसार पुष्टि भएका सङ्क्रमितमध्ये मृत्यु हुने दर करिब ४६ प्रतिशत पुगेको छ, जुन जुनको सुरुवातमा करिब २० प्रतिशत मात्र थियो।
मृत्युदर बढे पनि विशेषज्ञहरूले यसको अर्थ भाइरस पहिलेभन्दा बढी घातक भएको भने मान्न सकिने बताएका छन्। सङ्क्रमितको ढिलो पहिचान, कमजोर निगरानी र उपचारमा पहुँचको अभावका कारण मृत्यु दर बढेको हुन सक्ने उनीहरूको भनाइ छ।
स्वास्थ्य विशेषज्ञ थोमस पारिशका अनुसार सामान्य अवस्थामा प्रकोप फैलिँदै जाँदा सम्पर्क खोजी र प्रारम्भिक उपचार प्रभावकारी हुने भएकाले मृत्यु दर घट्नुपर्ने हो। तर डीआर कंगोमा धेरै सङ्क्रमितको पहिचान अत्यन्त ढिलो अवस्थामा वा मृत्यु भएपछि मात्र भइरहेको छ।