काठमाडौं । पछिल्लो चार महिनामा सर्पले टोकेर ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वैशाखयता सर्पको टोकाइबाट ६६ जनाको मृत्यु भएको हो । महाशाखाका चिकित्सक डा. अमृत पन्थीका अनुसार उक्त अवधिमा ९५६ जनालाई सर्पले टोकेको छ ।
“सर्पले टोकेका प्रत्येक एक सय जनामध्ये १० देखि १२ जनामा मात्रै विषको असर वा लक्षण देखिने गर्छ । यसरी विषको लक्षण पुष्टि भएका बिरामीलाई भने तत्कालै एन्टिभेनम (विष निरोधक खोप) दिई उपचार गर्नुपर्छ,” डा. पन्थीले भने, “तर, सर्पले टोकेपछि पनि तुरुन्तै अस्पताल नजाने र घरेलु उपचारमा बिरामी अलमलिँदा बिरामीको ज्यान जाने गरेको छ ।”
समयमा उपचार गर्न स्वास्थ्यसंस्थामा बिरामी नजाँदा बिरामीको ज्यानै जाने गरेको उनको भनाइ छ । साथै, स्वास्थ्यसंस्थाहरूमा एन्टिभेनम अभाव नरहेको पनि उनले बताए ।
स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन सात वटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिएको उनले बताए ।