विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध चिसिएको भन्ने हल्ला निराधार भएको दाबी गरेका छन् ।
विराटनगरमा शनिबार आयोजित ‘मिसन जागरण अभियान २०८३’ अन्तर्गतको महानगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी र विवाद नरहेको बताए ।
उनले प्रधानमन्त्री मेयर बालेन शाह र रास्वपाको भने कडा आलोचना गरे । बालेन शाहले संसदीय लोकतन्त्रका मूल्य र मान्यतालाई बेवास्ता गरेको उनको आरोप थियो ।

अहिलेको राजनीतिमा पपुलिजम, अनार्कितम र अपर्चुनिजम हाबी भएको बताउँदै उनले बालेन शाह र रास्वपा जस्ता शक्तिहरूले जनतामा भ्रम छरेर छिटो परिणाम खोज्न खोजेको तर उनीहरूको पतन पनि उत्तिकै छिटो हुने विश्लेषण गरे ।
पोखरेलले एमालेका ७० प्रतिशत कार्यकर्ता ४४ वर्षभन्दा माथिका रहेको र सामाजिक सञ्जालमा सक्रिय ७० प्रतिशत युवा ४४ वर्षभन्दा मुनिका रहेको तथ्यांक प्रस्तुत गर्दै पार्टीमा ‘जेन–जी’ पुस्तालाई जोड्न नसकिएको स्वीकार भने गरे ।