काठमाडौं । नेपालमा गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दाबी गरेको छ ।
चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको बताएको हो ।

बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्वसूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेइजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो ।
चीनका अनुसार उसको ‘वर्ल्ड मेट्रोलोजिकल सेन्टर’ ले विपत्ति आउनुभन्दा १२ दिनअघि नै नेपाललाई इमेलमार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो ।
उक्त इमेलमा भारी वर्षा, भूक्षय र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दाबी छ ।
पछिल्लो तथ्याङ्कअनुसार यस विनाशकारी विपत्तिमा परी हालसम्म नेपाल र तिब्बतमा गरी कुल ९५५ जना बढीले ज्यान गुमाइसकेका छन्। जसमध्ये नेपालमा मात्रै मृत्यु हुनेको सङ्ख्या ९३९ बढी पुगेको छ भने तिब्बतमा १६ जनाको मृत्यु भएको छ । विपत्तिका कारण बेपत्ता हुनेहरूको सङ्ख्या अझै भयावह छ ।
हालसम्म ३ हजार ९ सयभन्दा बढी मानिसहरू सम्पर्कविहीन रहेका छन्, जसले गर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित रिपोर्टअनुसार चीनले आफूमाथि लागेको सूचना लुकाएको आरोपको खण्डन गर्दै समयमै प्राविधिक जानकारी उपलब्ध गराएको जिकिर गरेको हो ।
यद्यपि, चीनले पठाएको भनिएको उक्त चेतावनीपूर्ण इमेल र सूचनामाथि नेपालका सम्बन्धित निकायहरूको प्रतिक्रिया भने आउन बाँकी छ ।