खोटाङ । खोटाङ जिल्लाका विपन्न नागरिकलाई यहाँका केही अस्पतालले विशेष छुट उपलब्ध गराउने भएका छन् । तवाचुङ नगरपालिका र खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका विपन्न नागरिकलाई काठमाडौँ मेडिकल कलेज ९केएमसी० अस्पताल र नोवेल मेडिकल कलेज विराटनगरले उपचारमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने भएका हुन् ।
स्थानीय तहसँगको सम्झौताअनुसार केएमसी, सिनामङ्गलले उपचार गराउन आउने नागरिकका लागि २५ प्रतिशत तथा दुवाकोट भक्तपुरमा आउनेका लागि ५० प्रतिशतसम्म सहुलियत दिने भएको हो । हलेसी तुवाचुङ नगरपालिकाले नोवेल मेडिकल कलेज विराटनगरमार्फत अति विपन्न नागरिकका लागि सहुलियत दिलाउने विषयमा हालै सम्झौता गरेको छ ।

जिल्लाको दोस्रो ठुलो स्थानीय तहमा ११ वटा वडा छन् । यस नगरपालिकाका नागरिकलाई नोबेल मेडिकल कलेज विराटनगरले २० प्रतिशत सहुलियत दिने भएको छ । अति विपन्न वर्गका २० जना नागरिकलाई केएमसी अस्पताल दुवाकोट भक्तपुरमा एक वर्षसम्म स्वास्थ्य उपचारमा शतप्रतिशत छुट उपलब्ध हुने व्यवस्था मिलाइएको नगरप्रमुख विमला राईले जानकारी दिएकी छन् ।
“नगरपालिकामा निर्माणाधीन आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन । नागरिकहरू उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने अवस्था छ”, उनले भने, “आफ्नै खर्चमा स्वास्थ्य उपचार गराउन सक्ने सबै नागरिकको अवस्था छैन । उपचार नपाएर आफ्नो नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजसँग सहुलियतमा उपचारको व्यवस्था मिलाएका हौँ ।”
खोटेहाङ गाउँपालिकाले ग्लोबल मेडिकल कलेज विराटनगर र काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा ५० प्रतिशत सहुलियतका लागि सम्झौता गरेको छ । अति विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहुलियत दिलाउन दुवै अस्पतालमा एक वर्षका लागि सम्झौता गरिएको गाउँपालिका प्रमुख उदीमबहादुर राई ‘मुक्ति’ ले जानकारी दिए ।
उता, जन्तेढुङ्गा गाउँपालिकाले काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरसँग सम्झौता गरेको हो । गाउँपालिकाभित्रका अति विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन गत साउन–२६ गते एक वर्षका लागि दुई अस्पतालसँग सम्झौता गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ ले जानकारी दिएका छन् ।
जिल्लाका अन्य स्थानीय तहले अति विपन्न आफ्ना नागरिकका लागि स्वास्थ्य सेवामा सहुलियत दिलाउन विभिन्न अस्पतालसँग पहल गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने अस्पताल तथा दक्ष जनशक्ति नहुँदा उपचारमा सुविधा सम्पन्न अस्पताल लैजानका लागि बिरामीका आफन्तले चर्को शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ ।
विसं २०४९ वैशाख–१ गते १५ शय्या क्षमतामा स्थापना गरिएको जिल्ला अस्पताल खोटाङलाई विसं २०८२ असार २२ गते ५० शय्याको सेवा विस्तार गरिएको भनिएको थियो । कोशी प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा विस्तारको घोषणा गर्नुभएको जिल्ला अस्पतालमा अहिलेसम्म उक्त सेवा उपलब्ध नरहेको सेवाग्राहीले गुनासो गरेका छन् ।
अस्पताल स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नतिको घोषणा गरिएको अस्पतालका लागि निर्माणाधीन भवन अहिलेसम्म सम्पन्न भएको छैन ।