नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। बाढीबाट भएको क्षति र पछिल्लो अवस्थाबारे जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।
अवलोकनका क्रममा उनले नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालासँग वर्तमान अवस्थाबारे जानकारी लिएका थिए।

सो अवसरमा राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य, राहत वितरणको अवस्था, होल्डिङ सेन्टरको सञ्चालन तथा पुनरुत्थानका लागि भइरहेका प्रयासबारे जानकारी गराइएको थियो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोटको स्थलगत अवलोकन तथा अवस्थाबारे जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ लागेका छन्।
बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्थाबारे जानकारी लिएका हुन्।