सुजता लिम्बू

मंगलबार, भाद्र २३, २०८३

विराटनगर । जेन्जी आन्दोलन उठेको र नेपालको राजनीतिक वृत्त नै हल्लिएको आज भदौ २३ गते एक वर्ष पूरा भएको छ ।  भ्रष्टाचारविरुद्धको नारासहित उठेको आन्दोलनले दुई दिनमै देशको राजनीतिक अवस्था नै हल्लाएको थियो ।

तीन दशकदेखिको राजनीतिक विरासत सत्ता च्युत भएको थियो भने पुराना भनिएका दलका नेता तथा प्रधानमन्त्रीसमेत भागमरेभाग को अवस्थामा पुगेका थिए । एक वर्षपछि आन्दोलनको उपलब्धि र त्यसले जन्माएका अपेक्षालाई हेर्दा युवाहरूको धारणा भने मिश्रित छ ।

आन्दोलनले राजनीतिक परिवर्तनको सुरुवात गरे पनि त्यसको मूल मर्मअनुसारको संस्थागत तथा व्यवहारिक परिवर्तन अझै पूरा हुन नसकेको उनीहरूको भनाइ छ । जेन्जी अगुवा विशाल साहका अनुसार जेन्जी आन्दोलनले सत्ता परिवर्तनको ढोका खोल्न सफल भए पनि प्रणालीगत रूपान्तरणको यात्रा अझै पूरा भएको छैन। यसको वास्तविक उपलब्धि सरकार फेरबदलमा मात्र सीमित हुँदैन ।

महँगी नियन्त्रण, सुशासनको प्रत्याभूति, न्यायको सुनिश्चितता, भ्रष्टाचारमाथि प्रभावकारी नियन्त्रण र युवाको भविष्यमा देखिने सकारात्मक परिवर्तनले मात्र आन्दोलनको सफलता प्रमाणित गर्ने उनको भनाइ छ ।

समग्रमा, जेन्जी आन्दोलन भएको एक वर्ष पूरा हुँदा युवाहरूमा राजनीति, कानुन र शासन व्यवस्थाप्रति चासो तथा जागरण बढ्नु आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको साह बताउँछन् ।

विगत लामो समयदेखि उठ्दै आएका सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक सुधारका विषयलाई भदौ २३ र २४ गतेको आन्दोलनले नयाँ पुस्तामाझ थप स्थापित गरेको उनको धारणा छ ।

राज्यका संयन्त्र तथा प्रहरी प्रशासनको कार्यशैलीमा देखिएका केही सकारात्मक परिवर्तन र युवा पुस्ताको नेतृत्वमा नयाँ अनुहारहरूको उदय पनि आन्दोलनका सकारात्मक पक्ष भएको साह बताउँछन्। यद्यपि, ७६ जनाको बलिदान र हजारौँ घाइतेको योगदानबाट आएको परिवर्तनको पूर्ण मूल्याङ्कन गर्न अझै केही समय आवश्यक रहेको उनको भनाइ छ ।

अर्कोतर्फ, आन्दोलनमा सहभागी तथा योगदान दिएका कतिपय युवाहरू एक वर्ष बितिसक्दा पनि जेलमा रहनु वा मुद्दा खेपिरहनु गम्भीर विषय भएको साह बताउँछन् । छ महिना सुशीला कार्की नेतृत्वको सरकार र छ महिना बालेन्द्र शाह नेतृत्वको सरकार बितिसक्दा पनि समिति गठन, छानबिन र कानुनी प्रक्रियाले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ ।

अझ वर्तमान सरकारमा जेन्जी आन्दोलनबाट आएको युवा नेतृत्व गृह मन्त्रालयको जिम्मेवारीमा हुँदासमेत युवाहरूले नै न्यायका लागि मुद्दा खेपिरहनुपर्ने अवस्था चिन्ताजनक रहेको साह बताउँछन् ।

नयाँ नेतृत्वलाई कम्तीमा एक वर्षको परीक्षण काल दिनुपर्ने भए पनि अब सरकारले संस्थागत भ्रष्टाचारको अन्त्य, सुशासन र आन्दोलनका घाइते तथा सहिद परिवारप्रतिको दायित्व पूरा गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन देखाउन आवश्यक रहेको उनको भनाइ छ। अन्यथा, अहिलेको जनआकांक्षा पुनः असन्तुष्टि र विद्रोहमा परिणत हुन सक्ने उनको चेतावनी छ ।

जेन्जी अगुवा लक्ष्मी घिमिरे भने आन्दोलनको एक वर्षलाई केवल सरकार र सत्ता परिवर्तनको उपलब्धिमा सीमित गरेर हेर्न नहुने बताउँछिन् । उनका अनुसार आन्दोलनको मर्म राज्यका संस्थालाई कमजोर बनाएर व्यक्ति शक्तिशाली बनाउने थिएन।

“प्रधानमन्त्री, मन्त्री, सांसद संस्था हुन्, व्यक्ति होइनन्। भोलि अर्को सरकार बन्न सक्छ तर संस्था अर्को हुँदैन, यही रहन्छ,” उनी भन्छिन् । राज्यका संस्था कमजोर बनाउँदै व्यक्तिवादी केन्द्रित भएको महसुस भइरहेको उनको भनाइ छ।

सरकारले आफ्नो निजी फेसबुक सञ्जालबाट देश चलाइरहेको जस्तो देखिएको भन्दै घिमिरेले फेसबुकबाट सामाजिक तथा आर्थिक न्यायका मुद्दा नदेखिने बताउँछिन्। भुइँतहका कमजोर पक्षका नागरिकको न्यायको चीत्कार नसुनिएको र समाज बुझ्न नसकिएको उनको टिप्पणी छ ।

“तर फेसबुकको स्ट्याटसबाट मात्रै अहिले देश र समाज बनेको देखिन्छ। वास्तवमा हेर्ने हो भने हाम्रो आन्दोलनको म्यान्डेटअनुसार चलेको देखिन्न,” घिमिरे भन्छिन् ।

उनका अनुसार संविधानअनुसार संसद्ले कानुन बनाउन सकेन भने, देशमा बेरोजगारी घटेन भने, युवा पलायन रोकिएन भने, नागरिक र सरकारबिचको दूरी घटेन भने, संस्थागत भ्रष्टाचारको अन्त्य भएन भने र देशमा सुशासन छाएन भने अहिलेको सरकारप्रतिको दुई तिहाइ जनमतको विश्वास, भरोसा र आशा निकट समयमै निराशा, वितृष्णा र आक्रोशका रूपमा सडकमा विस्फोट हुन सक्ने अवस्था आउन सक्छ ।

विक्रान्त बस्नेतका अनुसार राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि जनताको अपेक्षा र आकांक्षा पूरा गर्ने जिम्मेवारीको सुरुवात अझै स्पष्ट रूपमा देखिएको छैन । जेन्जी आन्दोलन उठेको र राजनीतिक वृत्त नै हल्लिएको आज भदौ २३ गते एक वर्ष पूरा भएको भन्दै उनी आन्दोलनले दुई दिनमै देशको राजनीतिक अवस्था हल्लाएको बताउँछन् ।

भ्रष्टाचारविरुद्धको नारासहित उठेको आन्दोलनले दुई दिनमै देशको राजनीतिक अवस्था नै हल्लिएको मात्रै थिएन, तीन दशकदेखिको राजनीतिक विरासत सत्ता च्युत भएको थियो। पुराना भनिएका दलका नेता तथा प्रधानमन्त्री नै भागमरेभागको अवस्थामा पुगेका थिए ।

यही सन्दर्भमा आन्दोलनको अपेक्षा र उपलब्धिलाई हेर्दा राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि जनताको अपेक्षा र आकांक्षा पूरा गर्ने जिम्मेवारीको वास्तविक सुरुवात अझै देखिन नसकेको बस्नेतको भनाइ छ ।

त्यस्तै, अर्पित कुँवरका अनुसार आज एक वर्षपछि जेन्जी आन्दोलनले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको देखिन्छ । यस आन्दोलनले युवाहरूको आवाजलाई बलियो बनाउँदै भ्रष्टाचार, बेथिति र पुरानो राजनीतिक संस्कारविरुद्ध स्पष्ट सन्देश दिएको उनको भनाइ छ ।

आन्दोलनपछि राजनीतिक नेतृत्व र शासन प्रणालीप्रति जनताको अपेक्षा अझ बढेको भए पनि सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, जबाफदेहिता तथा युवाका लागि रोजगारी र अवसरजस्ता मुख्य अपेक्षाहरू अझै पूर्ण रूपमा पूरा हुन नसकेको कुँवर बताउँछन् ।

“त्यसैले आन्दोलनलाई असफल भन्न मिल्दैन, तर यसले खोजेको सम्पूर्ण परिवर्तन पनि आइसकेको छैन,” उनी भन्छन् । जेन्जी आन्दोलनले परिवर्तनको सुरुवात गर्न सफल भएको भन्दै अब त्यसलाई दीर्घकालीन र व्यवहारिक परिवर्तनमा बदल्नु नै यसको सबैभन्दा ठुलो परीक्षा र चुनौती भएको कुँवरको भनाइ छ ।

एक वर्षको अवधिमा जेन्जी आन्दोलनले राजनीतिक परिवर्तनको आधार तयार गर्नुका साथै युवाहरूमा राजनीति, कानुन र शासन व्यवस्थाप्रति चासो तथा जागरण बढाएको देखिन्छ । तर आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय, रोजगारी, पारदर्शिता र संस्थागत सुधारका विषयमा अपेक्षित परिणाम देखाउन अझै बाँकी रहेको युवाहरूको धारणा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं