काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते गएको विनाशकारी बाढी केवल प्राकृतिक दुर्घटना नभएको वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। २० भन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मिलित अध्ययनले मानव गतिविधिका कारण बढिरहेको जलवायु परिवर्तनले विपत्तिको पृष्ठभूमि तयार पारेको निष्कर्ष निकालेको हो।
चीनको केरुङनजिकै लाङटाङ–लिरुङ हिमाल क्षेत्रमा चट्टान र हिमनदीको ठूलो भाग खसेपछि आएको बाढीले भोटेकोसी र त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको थियो। घटनामा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको र पाँच हजारभन्दा बढी बेपत्ता रहेको जनाइएको छ।

चट्टान र हिमनदी खस्दा बनेको विनाशकारी बहाव
भदौ १० गते करिब दुई हजार फिट चौडा चट्टान र हिमनदीको विशाल भाग झन्डै सात हजार फिट तल नदीमा खसेको थियो। अत्यन्त तीव्र गतिमा खसेको पहिरोले ठूलो मात्रामा हिउँ तत्काल पगालिदियो।
पग्लिएको हिउँ, चट्टान र लेदोको बहाव नदीमा मिसिएपछि बाढी झन् शक्तिशाली बनेको वैज्ञानिकहरूले बताएका छन्। बाढी ३२ किलोमिटरभन्दा बढी तलसम्म तीव्र गतिमा फैलिएको थियो। उट्रेच विश्वविद्यालयका हिमाली जलविज्ञ वाल्टर इमर्जिलले यसलाई हिमालय क्षेत्रमा देखिएको असाधारण प्रकृतिको विपत्तिका रूपमा वर्णन गरेका छन्।
तापक्रम वृद्धिले कमजोर बनायो हिमाली भूभाग
वर्ल्ड वेदर एट्रिब्युसन ९डब्ल्यूडब्ल्यूए०को अध्ययनले जीवाश्म इन्धनको प्रयोगबाट उत्सर्जित हरितगृह ग्यासका कारण बढेको तापक्रमले हिमाली भूभागलाई अस्थिर बनाउन भूमिका खेलेको देखाएको छ।
वैज्ञानिकहरूका अनुसार तापक्रम बढ्दै जाँदा हिमालयमा ‘पर्माफ्रस्ट’ अर्थात् वर्षौँदेखि जमेर रहेको माटो, चट्टान र हिउँ पग्लिँदै गएको छ। पर्माफ्रस्ट कमजोर हुँदा चट्टानको स्थायित्व घट्नुका साथै पानी चट्टानका दरारभित्र पस्ने अवस्था बढ्छ। यसले पहिरोको जोखिम थप बढाउन सक्छ।
अध्ययनअनुसार लाङटाङ–लिरुङ हिमनदी सन् २०१० पछि उल्लेख्य रूपमा पातलिएको र खुम्चिएको छ। हिमनदीको आकार घट्दा आसपासको भिरालो भूभागको स्थिरतामा समेत असर परेको वैज्ञानिकहरूको भनाइ छ।
असामान्य हिमपातपछि उच्च तापक्रम
पहिरोअघि उक्त क्षेत्रमा मौसम पनि असामान्य थियो। गत वर्ष अक्टोबर र नोभेम्बरको सुरुआतमा असामान्य हिमपात भएको थियो भने त्यसपछि जुलाई र अगस्टमा अत्यधिक तापक्रम देखिएको थियो।
वैज्ञानिकहरूले ऐतिहासिक मौसम तथ्यांक र जलवायु मोडलको विश्लेषण गर्दा जलवायु परिवर्तनका कारण उक्त क्षेत्रको जुलाई–अगस्टको तापक्रम पूर्वऔद्योगिक अवस्थाको तुलनामा करिब १.५ डिग्री सेल्सियस बढी रहेको पाएका छन्।
वार्षिक तापक्रमसमेत विश्वव्यापी औसतभन्दा तीव्र गतिमा बढेको अध्ययनले देखाएको छ। तर तापक्रम वृद्धिले हिमपात वा वर्षाको मात्रा कति परिवर्तन गर्यो भन्ने सम्बन्ध भने पूर्ण रूपमा स्थापित गर्न नसकिएको वैज्ञानिकहरूले बताएका छन्।
२०७२ को भूकम्पको सम्भावित प्रभाव
वैज्ञानिकहरूले सन् २०१५ को ७.८ म्याग्निच्युडको भूकम्पलाई पनि घटनाको दीर्घकालीन पृष्ठभूमिसँग जोडेर हेरेका छन्। उक्त भूकम्पले हिमाली क्षेत्रमा चट्टान र हिउँका पहिरो निम्त्याउनुका साथै भिरालो सतह कमजोर बनाएको हुन सक्ने अध्ययनमा उल्लेख छ।
यसअघि कमजोर बनेको भूभागमा तापक्रम वृद्धि, पर्माफ्रस्ट पग्लिनु र हिउँ पग्लिएर बढेको पानीजस्ता प्रक्रिया थपिँदा पहिरोका लागि अनुकूल अवस्था बनेको वैज्ञानिकहरूको निष्कर्ष छ।
पूर्वसूचना प्रणालीका लागि चुनौती
वैज्ञानिकहरूका अनुसार यो घटना आकार, गति र जटिलताका हिसाबले असाधारण थियो। त्यसैले अहिले सञ्चालनमा रहेका पूर्वसूचना प्रणालीले यस्तो घटनाबाट जोगिन पर्याप्त समय दिन नसक्ने अध्ययनमा उल्लेख छ।
लन्डनस्थित इम्पेरियल कलेजकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिक ओटोले मानव–निर्मित जलवायु परिवर्तनले यस्तो विपत्तिको जोखिम बढाउने पृष्ठभूमि तयार गरिरहेको बताएकी छन्।
यद्यपि डब्ल्यूडब्ल्यूएको यो अध्ययन वैज्ञानिक विधिमा आधारित भए पनि यसको अन्तिम निष्कर्षका लागि ‘पियर रिभ्यु’ प्रक्रिया बाँकी रहेको छ। दुर्गम र भौगोलिक रूपमा जटिल हिमालय क्षेत्रमा मौसम तथा हिमनदीसम्बन्धी तथ्यांकको अभाव रहेकाले यस्ता घटनाको वैज्ञानिक विश्लेषण अझै चुनौतीपूर्ण रहेको विज्ञहरूले बताएका छन्।