काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि विदेशी राष्ट्र, संस्था तथा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ४८ लाख ८५ हजार ४९८ अमेरिकी डलर सहयोग गरेका छन्। यो रकम करिब ३ अर्ब ८० करोड ४७ लाख रुपैयाँ बराबर हो।
अर्थ मन्त्रालयका अनुसार असोज ८ गतेसम्म विदेशी राष्ट्र, संस्था तथा कम्पनीबाट उक्त रकम कोषमा जम्मा भएको हो। यसमा विदेशी पक्षले उपलब्ध गराएको राहत सामग्रीको मूल्य समावेश गरिएको छैन।

गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न अपिल गरेको थियो। त्यसपछि नेपाल तथा विदेशबाट कोषमा कुल १५ अर्ब ५४ करोड २० लाख १ हजार ३३९ रुपैयाँ जम्मा भएको छ।
अर्थ मन्त्रालयको विवरणअनुसार कोषमा ३२ विदेशी राष्ट्र, पाँच विदेशी संस्था र छ विदेशी कम्पनीले रकम जम्मा गरेका छन्। रकम उपलब्ध गराउने देशमा बेलायत, क्यानडा, अमेरिका, जर्मनी, चीन, न्युजिल्यान्ड, नर्वे, भुटान, स्विट्जरल्यान्ड, श्रीलंका, मलेसिया, दक्षिण कोरिया, अस्ट्रेलिया, आयरल्यान्ड, डेनमार्क, भियतनाम, थाइल्यान्ड, लाटभिया र चेक गणतन्त्रलगायत छन्।
बेलायतले साझेदार संस्थामार्फत ६३ लाख ५० हजार अमेरिकी डलर, क्यानडाले ३६ लाख ५० हजार डलर, अमेरिकाले ३६ लाख डलर र जर्मनीले साझेदार संस्थामार्फत २० लाख डलर कोषमा जम्मा गरेका छन्।
त्यस्तै, चीनले २१ लाख डलर, न्युजिल्यान्डले साझेदार संस्थामार्फत १२ लाख २० हजार डलर, नर्वेले ११ लाख ९३ हजार ८०० डलर, भुटानले ११ लाख ३० हजार डलर, स्विट्जरल्यान्डले साझेदार संस्थामार्फत १० लाख डलर र श्रीलंकाले १० लाख डलर उपलब्ध गराएका छन्।
दक्षिण कोरियाले साझेदार संस्थामार्फत १० लाख डलर, अस्ट्रेलियाले १० लाख डलर, आयरल्यान्डले ५ लाख ४० हजार डलर, डेनमार्कले ५ लाख १४ हजार ५०० डलर, भियतनामले ३ लाख डलर, थाइल्यान्डले २ लाख १० हजार डलर, लाटभियाले साझेदार संस्थामार्फत १ लाख ८ हजार डलर र चेक गणतन्त्रले १ लाख ७ हजार ५०० डलर उपलब्ध गराएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) ले १ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। उक्त रकम प्राप्त हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, एसियाली विकास बैंक ९एडीबी०ले ५० लाख डलर र सेन्ट्रल इमर्जेन्सी रेस्पोन्स फन्ड ९सीईआरएफ०ले २५ लाख डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
राहत सामग्री पनि उपलब्ध
भारत, लक्जेम्बर्ग, बंगलादेश, जापान, सिंगापुर, फ्रान्स, पाकिस्तान, म्यानमार, कतार, चीन र यूएईलगायत देशले बाढीपीडितका लागि राहत सामग्रीसमेत पठाएका छन्। भारतले बाढीपीडितका लागि १३० टनभन्दा बढी अत्यावश्यक राहत सामग्री पठाइसकेको छ। खोज तथा उद्धारका लागि भारतले एक सयभन्दा बढी विज्ञ सम्मिलित टोलीसमेत नेपाल पठाएको थियो।
त्यस्तै, २३० फिट लामो मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक १६ ट्रक सामग्री भारतबाट नेपाल आइपुगेको छ। थप सातवटा बेलिब्रिज भारतबाट आउने क्रममा छन्। चीनले ५० टनभन्दा बढी आपत्कालीन राहत सामग्री पठाएको छ। चीनबाट केही बेलिब्रिज प्राप्त भइसकेका छन् भने थप सामग्री आउने क्रममा रहेको छ। पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त भइसकेको छ भने यूएईले ८३ टन राहत सामग्री नेपाल पठाएको छ।
विदेशी कम्पनीबाट पनि सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अमेरिकी प्रविधि कम्पनी एनभिडियाले १ करोड अमेरिकी डलर सहयोग गरेको छ। त्यस्तै, भिलले १ करोड रुपैयाँ, भुटानको ड्रुकएयरले ३२ लाख रुपैयाँ, दुसान समूहले ५० लाख अमेरिकी डलर र अर्बन केयर्सले ७० हजार अमेरिकी डलर सहयोग गरेका छन्।
नगद सहयोगबाहेक विभिन्न देश तथा संस्थाबाट बाढीपीडितका लागि राहत तथा अत्यावश्यक सामग्री प्राप्त हुने क्रम जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।