काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपा सांसद भरत गिरीले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाए। उनले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई कानुनी प्रक्रिया मिचेर गिरफ्तार गरिएको भन्दै यसले मुलुकमा विधिको शासनको उपहास गरेको बताए।

‘सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जसरी मध्यरातमा घरबाटै अपहरण शैलीमा पक्राउ गर्यो, यो राज्य आतंकको बर्बर नमुना हो। यस्तो शैलीले लोकतन्त्र र मानव अधिकारको मर्ममाथि प्रहार गरेको छ,’ गिरीले भने।
गिरीले राप्रपा कानुनको शासन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै सरकारले कानुनको नाममा ‘प्रतिशोध’को राजनीति गरिरहेको आरोप लगाए।
‘हामी कानुन मान्छौँ, तर कानुनको आडमा गरिने डार्क राजनीति हामीलाई स्वीकार्य छैन। राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता अपनाउनुपर्छ। तर, यो सरकारले पटक–पटक निरंकुश र स्वेच्छाचारी शैली अपनाइरहेको छ,’ उनले भने।
सांसद गिरीले सरकार गठन भएदेखि नै संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्री तथा पूर्वपदाधिकारीलाई लक्षित गरी यस्ता घटना दोहोरिरहेको दाबी गरे।
‘कहिले पूर्वप्रधानमन्त्री, कहिले पूर्वपदाधिकारी त कहिले पूर्वप्रधानन्यायाधीशलाई राति सुतिरहेको बेला उठाउने र हतकडी लगाउने काम सरकारको नियमित कार्यतालिका जस्तै भएको छ। के यो लोकतान्त्रिक सरकारको काम होरु’ उनले प्रश्न गरे।