काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कालो धन निकाल्न नोटबन्दी गर्नुपर्ने बताएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारको कालो धन बाहिर निकाल्न नोट बन्दी गर्नुपर्ने माग गरेका हुन् ।
उनले भने, ‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरू शक्ति प्राप्त भयो। यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर यताकता सुनिँदै छ। हामीलाई थाहा छ यो पैसा कालो र यो देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नु पर्यो।’

रास्वपा सांसद न्यौपानेको मागमा नेकपाले पनि समर्थन जनाएको छ । लगत्तै बोल्दै नेकपा सांसद युवराज दुलालले न्यौपानेको यो प्रस्तावलाई पूर्ण समर्थन गर्दै ५ सय र हजारका नोट बन्द गर्न माग गरेका हुन् ।

उनले भने, ‘उहाँले राखेको प्रस्तावमा पूर्ण समर्थन समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोट हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोडदार रूपमा सरकारसँग माग गर्दछु।’
