काठमाडौं । नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ ।
आज दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने महाधिवेशन असोज २२ गतेसम्म जारी रहनेछ । भोलिदेखि बन्दसत्र हुनेछ ।

महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।
संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।
महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।